फागुन १६,बर्दिवास। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालनमा रहेका महोत्तरीको बर्दिवासका पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिँहले शुक्रबार अनुगमन गरेका आठ अस्पतालमध्ये सेवा सञ्चालन अनुमति नलिएका पाँचवटा अस्पतालहरू पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ओम समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई बन्द गर्न निर्देशन दिएका हुन् ।
सेवा सञ्चालन अनुमतिपत्रबिनै सञ्चालनमा रहेका ती अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सिँहले विधि र प्रक्रियाअनुसार मापदण्ड पूरा गरी सेवा सञ्चालन अनुमति लिई मात्र अस्पताल सञ्चालन गर्न ती अस्पतालका सञ्चालक तथा उपलब्ध कर्मचारीलाई निर्देशन दिएको छ ।
सेवा सञ्चालन अनुमति लिएको जनसेवा हस्पिटल प्रालि र डि.एन.बि मेडिकेयर सेन्टर प्रालिलाई नवीकरण गराउन मुख्यमन्त्री सिँहले निर्देशन दिएका छन् ।





