२० लाखको लागतमा दुर्गा मन्दिर भवन निर्माण कार्यको शिलान्यास सम्पन्न

|

जेष्ठ १५, रौतहट / मेवालाल यादव। रौतहटको परोहा नगरपालिका वडा नं. ३ तेजापाकड बजारमा मधेश प्रदेश सरकारको पर्यटन मन्त्रालय अन्तर्गत विनियोजित २० लाख रुपैयाँको बजेटमा निर्माण हुन लागेको दुर्गा मन्दिर भवनको एक कार्यक्रमका बीच विधिवत् शिलान्यास सम्पन्न भएको छ।

उक्त धार्मिक तथा सामाजिक महत्व बोकेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा कमिटी अध्यक्ष तथा युवा नेता धिरेन्द्र पटेल प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पटेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै धार्मिक स्थलहरूको विकासले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक एकता मजबुत हुने बताउनुभयो।

उहाँले मधेश प्रदेश सरकारअन्तर्गत पर्यटन मन्त्रालयबाट विनियोजित बजेटले स्थानीय धार्मिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता विकास निर्माणका कार्यलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राख्नुभयो।

युवा नेता पटेलले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु सम्पूर्ण समाजको साझा दायित्व भएको उल्लेख गर्दै दुर्गा मन्दिर भवन निर्माणपछि स्थानीय स्तरमा धार्मिक गतिविधि सञ्चालन गर्न सहज हुने तथा आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले लामो समयदेखि व्यवस्थित मन्दिर भवनको आवश्यकता महसुस हुँदै आएको अवस्थामा प्रदेश सरकारको सहयोगमा निर्माण कार्य सुरु हुनु खुशीको विषय भएको बताएका थिए।

स्थानीयवासीका अनुसार उक्त मन्दिर क्षेत्र धार्मिक आस्था तथा सामाजिक सद्भावको केन्द्रका रूपमा परिचित रहँदै आएको छ। नयाँ भवन निर्माण सम्पन्न भएपछि धार्मिक कार्यक्रम, पूजा–आराधना तथा सामुदायिक गतिविधिहरू थप व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा वक्ताहरूले धार्मिक क्षेत्रको विकाससँगै सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा समेत सरकारको ध्यान जानुपर्ने धारणा व्यक्त गरेका थिए।

निर्माण कार्य निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गरिने आयोजक पक्षले जनाएको छ। स्थानीय समुदायको सक्रिय सहभागितासँगै सुरु गरिएको उक्त योजना क्षेत्रकै धार्मिक तथा सामाजिक विकासको महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ।

वैदिक मन्त्रोच्चारण तथा पूजा–आराधनासहित सम्पन्न शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, धार्मिक अगुवा, युवा तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित