फागुन ०५,जनकपुरधाम । धनुषाको २४ वर्षीय अनिल कुमार यादव नेपाल टेलिकमका सबैभन्दा कान्छा टेलिकम इन्जिनियर बन्न सफल भएका छन्। जिल्लाको मुखियापट्टि मुसहरनिया-०४ का अनिल कुमार यादवले नेपाल टेलिकमले लिएको टेलिकम इन्जिनियर अधिकृत सातौं तहको परीक्षा पास गरेका हुन् ।
इलेक्ट्रोनिक्स र कम्युनिकेसन इन्जिनियरिङ अध्ययन गरेका अनिल पोखरा विश्वविद्यालयका टपर समेत हुन्। उनको उत्कृष्ट शैक्षिक प्रदर्शनका कारण उनलाई स्पेनमा उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त भएको थियो।
यादवको सफलता युवा पुस्ताका लागि प्रेरणादायी छ। उनी आफ्नो कडा मेहनत, लगनशीलता र आत्मविश्वासका कारण छोटो समयमै नेपाल टेलिकममा प्रतिष्ठित स्थान हासिल गर्न सफल भएका छन्।
प्राविधिक क्षेत्रमा युवाको प्रवेश तथा प्रगति आवश्यक रहेको सन्दर्भमा अनिल कुमार यादवको यात्रा प्रेरणादायी मात्र होइन, नवप्रवर्तनशील सोच राख्ने विद्यार्थीहरूका लागि मार्गदर्शन बनेको छ ।






