जेष्ठ ११, सप्तरी / चन्दन रजक। स्वादिष्ट आँप उत्पादनका लागि देशभर परिचित सप्तरीमा यस वर्ष आँप उत्पादन उल्लेख्य रूपमा बढेको छ । समयमै गरिएको औषधि प्रयोग तथा बोटमा राम्रो फल लागेका कारण विगतका वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको किसानहरू बताउँछन् ।
सप्तरीलाई नेपालकै “आँपको राजधानी” भनेर चिनिने गरिन्छ । यहाँ उत्पादन हुने आँपको स्वाद र गुणस्तरका कारण देशका विभिन्न जिल्लामा यसको माग उच्च रहने गरेको छ । विशेषगरी काठमाडौं, विराटनगर, बिर्तामोडलगायतका बजारमा सप्तरीको आँप ठूलो परिमाणमा निर्यात हुने गरेको स्थानीय किसान सहमूलले बताउँछन् ।
मधेश प्रदेशमै सबैभन्दा बढी आँप उत्पादन हुने जिल्लाको रूपमा परिचित सप्तरीको भौगोलिक अवस्था र हावापानी आँप खेतीका लागि उपयुक्त मानिन्छ । मधेशका आठवटै जिल्लामा व्यावसायिक रूपमा आँप खेती हुँदै आए पनि उत्पादन र स्वाद दुवै हिसाबले सप्तरी अग्रस्थानमा रहेको कृषकहरूको भनाइ छ । सिरहामा पनि राम्रो उत्पादन हुने गरे तापनि स्वादका कारण सप्तरीको आँपको अलग पहिचान बनेको स्थानीय बताउँछन् ।
कृषक मो. सहमूलका अनुसार यस वर्ष आँपको बोटमा फल धेरै लागेकाले उत्पादन पनि उल्लेख्य बढेको हो । उनले आँप जोगाउन तीन पटकसम्म औषधि छर्किनुपरेको बताए । मधुवा नियन्त्रण, भिटामिन तथा किराको औषधि प्रयोग गर्नुपरेको थियो । समयमै व्यवस्थापन गर्दा उत्पादन राम्रो भएकाे हाे।
यस वर्ष उत्पादन बढेसँगै बजार व्यवस्थापन र उचित मूल्यको अपेक्षा पनि बढेको छ । आँप बिक्रीको मुख्य सिजन सुरु भएसँगै व्यापारीले गाउँ–गाउँ पुग्न थालेका छन् ।
फलफूलको राजा भनेर चिनिने आँपले अहिले सप्तरीका किसानलाई राम्रो आम्दानीको आशा दिलाएको छ ।





