शेख हसिनाले तत्काल भारत नछाड्ने

|

साउन २२,एजेन्सी। बंगलादेशमा राजनीतिक उथलपुथलका बीच प्रधानमन्त्री पदबाट राजीनामा दिएकी शेख हसिनाले तत्काल भारत नछाड्ने भएकी छन्।

उनका छोरा वाजेद जोयले जर्मन वेबसाइट डीडब्लुलाई दिएको एक अन्तर्वार्तामा हसिनाको अहिले कतै जाने योजना नभएको बताएका छन्। हसिनाले अहिलेसम्म कुनै पनि देशसँग राजनीतिक शरण नमागेको उनको दाबी छ।

उनले शेख हसिनाले एक दिनअघि नै राजीनामा दिने निर्णय गरेको भन्दै यो कुरा थोरैलाई मात्र थाहा भएको दाबी गरे।

‘उहाँ(शेख हसिना)ले राजीनामा दिने निर्णय देश छाड्न एक दिन अगाडि नै गर्नुभएको थियो, यो कुरा सीमित व्यक्तिलाई मात्र थाहा थियो,’ उनले अगाडि भने, ‘उहाँ संविधानबमोजिम नै सत्ता परिवर्तन गर्न चाहनुहुन्थ्यो तर आन्दोलनले हिंसात्मक रूप लिएपछि त्यसो गर्ने मौका पाउनुभएन।’

राष्ट्रपति मोहम्मद शाहबुद्दीनले बुधबार संसद विघटन गरेपछि सरकारको उच्च पदमा रहेका धेरै पदाधिकारीको राजीनामा आउन थालेको छ। यसैबीच हसिना सरकारका महान्यायाधिवक्ता एएम अमिन उद्दिनले बिहीबार राजीनामा दिएका छन्।

यसैबीच देशको सबैभन्दा ठूलो सुरक्षा निकाय मध्येको एक र्यापिड एक्सन बटालियन प्रमुखलाई परिवर्तन गरिएको छ। अब एकेएम शहिद्दुर रहमानले यस एजेन्सीको नेतृत्व गर्नेछन्।

हसिनाको शासनकालमा अमेरिकाले यस एजेन्सीका धेरै अधिकारीलाई प्रतिबन्ध लगाएको थियो। आतङ्ककारीको सट्टा एजेन्सी सरकारका विरोधीहरूलाई हटाउन प्रयोग भइरहेको आरोप लाग्दै आएको थियो।

अहिले बंगलादेशमा आन्दोलनको नेतृत्व गर्ने विद्यार्थीको सिफारिसमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको छ। आरक्षण खारेज गर्नुपर्ने विद्यार्थीहरूको प्रदर्शन हिंस्रक भएसँगै अगस्ट ५ मा बंगलादेश छोडेकी हसिना अहिले भारतमा छिन्।

चर्चित समाचार


भर्खरै प्रकाशित