बाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदान

|

सर्लाही । पर्सा गाउँपालिकाले बाढीपहिरो तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रु. १७ लाख ६ हजार ११३ सहयोग गर्ने भएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार पालिकाको तर्फबाट रु. २ लाख, सम्पूर्ण जनप्रतिनिधिबाट रु. ४ लाख ९८ हजार ७ सय, कर्मचारीबाट रु. ६ लाख १२ हजार ३ सय ७५ तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट रु. ३ लाख ९५ हजार ३८ योगदान गरिएको छ।

जनप्रतिनिधिको योगदानमा १ महिनाको सेवा सुविधा, अधिकृतस्तरका कर्मचारीको ७ दिन, सहायकस्तरका कर्मचारीको ५ दिन तथा श्रेणीविहीन सहयोगी कर्मचारीको २ दिनको तलब समावेश गरिएको गाउँपालिकाले जनाएको छ। त्यस्तै, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीबाट पनि तोकिएको अवधिको तलब सहयोग गरिएको छ।
गाउँपालिकाले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने जनाएको छ।

पर्सा गाउँपालिकाले विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरेको छ। साथै, विपद्को समयमा सबै पक्षलाई आ-आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित