प्रधानमन्त्री राहत कोषमा ५ लाख जम्मा, सहयोग गर्ने रौतहटको पहिलो स्थानमा परोहा

|

भदौ १५ , रौतहट / मेवालाल यादव। गत २०८३ भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मात्रामा जनधनको क्षति पुर्याएपछि रौतहटको परोहा नगरपालिकाले मानवीय सहायताका लागि अग्रसरता देखाएको छ।

बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति गहिरो दुःख व्यक्त गर्दै परोहा नगरपालिकाले मृतक परिवारजनप्रति हार्दिक समवेदना तथा मृत आत्माको चिर शान्तिको कामनाका लागि हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। प्राकृतिक विपत्तिको यस कठिन घडीमा पीडित परिवारलाई राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाको तर्फबाट प्रधानमन्त्री राहत उद्धार कोषको खातामा रु. ५ (पाँच) लाख नगद जम्मा गरिएको नगर प्रमुख शेख वकिलले जानकारी दिनुभएको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको उक्त जलप्रलयका कारण तटीय क्षेत्र तथा आसपासका बस्तीहरूमा अतुलनीय क्षति पुगेको छ। देशैभरि शोकाकुल वातावरण बनेका बेला रौतहट जिल्लाका १८ वटा स्थानीय तहहरूमध्ये बाढी पीडितका लागि सरकारी कोषमा आर्थिक सहयोग जम्मा गर्ने परोहा नगरपालिका पहिलो पालिका बनेको छ।

नगर प्रमुख शेख वकिलका अनुसार विपद्को कुनै सीमा नहुने र देशको जुनसुकै कुनामा परेको सङ्कटमा एकापसमा सहयोग गर्नु नै सच्चा मानवीय धर्म हो। “रसुवामा भएको यो अकल्पनीय क्षतिले हामी सबैको मन दुखाएको छ। पीडित परिवारलाई सानो भए पनि मल्हम लगाउन सकियोस् भनेर हामीले नगर कार्यपालिकाको निर्णय अनुसार प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेका छौँ,” नगर प्रमुख वकिलले भन्नुभयो।

परोहा नगरपालिकाले देखाएको यो तत्परता र भाइचाराको भावनाले अन्य स्थानीय तह तथा संघ-संस्थाहरूलाई पनि विपद् व्यवस्थापन र राहत सहयोगमा अगाडि बढ्न प्रेरणा मिलेको छ। नगरपालिकाले देशका अन्य इच्छुक व्यक्ति, व्यवसायी तथा सामाजिक संघ-संस्थाहरूलाई पनि आफ्नो क्षमता अनुसार राहत कोषमा सहयोग गरी विपद् व्यवस्थापनमा सहभागी हुन अपिल गरेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित