पुस १२, डेस्क। सरकारी कार्यालयबाट राष्ट्रपतिको फोटो हटाएर ‘राजा’को फोटो राख्न मिल्छ त ? तर हर्कले राखेका यलम्बर को हुन् त ?
सरकारले देशभरका सरकारी कार्यालयमा राष्ट्रप्रमुखको फोटो राख्न परिपत्र नै जारी गरेको छ । जुन परिपत्र कानुनसरह हो । कसैले पनि देशको कानून मिच्न पाउँदैन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर प्रथम किराती राजाको फोटो राखेपछि यसको आलोचना सुरु भएको छ । ‘स्थानीय तहले आफूखुशी फोटो राख्न पाउँछन् कि पाउँदैनन् ?’ भन्ने चासो सामाजिक सञ्जालतिर देखिएसँगै यसबारे बहस सुरु भएको हो ।
बिहीबार मेयर साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर हटाएर पहिलो किराती राजा यलम्बरको तस्वीर राखेपछि यसबारे चर्चा भइरहेको छ। कतिपयले भने विभिन्न राज्य जोडेर सिङ्गो नेपाल बनाउने पृथ्वी नारायण शाहको फोटो राख्नुपर्ने तर्क गर्दै पनि आएका छन्। कतिपयले भने कसैको पनि फोटो नराख्नुपर्ने मत राख्दै आएका छन्। केहीले भने सरकारी कार्यालयमा सरकार प्रमुख राष्ट्रपति र प्रधानमन्त्रीकै फोटो राख्नुपर्ने धारणा राखिरहेका छन् । यसभन्दा पहिला जानौँ हर्कले फोटो राखेका यलम्बर को थिए ?
किरात कालभन्दा अगाडि मुलुकमा गोपाल, महिषपालजस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ। तर, प्रस्ट प्रमाणको अभावमा किरात काल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रमाणिक इतिहासको रूपमा लिइँदैन। यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुआत किरात कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भएको छ ।
यस कालका राजा यलम्बरलाई नै प्रथम किराती राजाको रूपमा मानिन्छ । उनैले किरात अधिराज्यको स्थापना गरेका थिए । कथन र विभिन्न अध्ययनअनुसार लगभग दुई हजार पाँच सय वर्ष अगाडि काठमाडौंलगायतका ठाउँका किरातको बसोबास थियो । किरातीलाई जङ्गली र पहाडीहरूको एक भूमिपुत्र मूलवासी मानिन्छ । जुन मध्य एसिया, भारत र हिमालयबाट आएर बस्न थालेका बताइन्छ । नेपालमा ३२ जना किरात राजाहरूले करिब आठ सय वर्ष शासन गरेको विभिन्न ऐतिहासिक स्रोतहरूमा उल्लेख छ ।





