राष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा

|

न्युयोर्क। संयुक्त राष्ट्रसंघको ८१औं महासभा मंगलबारदेखि यहाँ सुरु भएको छ। संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयमा सुरु भएको महासभा आगामी २९ सेप्टेम्बरसम्म जारी रहनेछ।

‘विश्वासको पुनस्र्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने मुख्य नारासहित करिब २० दिनसम्म चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरे।

सो अवसरमा अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय र जलवायु परिवर्तनलगायतका जल्दाबल्दा मुद्दाहरूमा घनिभूत एवं प्रभावकारी ढंगले छलफल तथा विचार-विमर्श भई विश्वव्यापी समस्याहरू सम्बोधन गर्न यो ८१औँ महासभा सफल हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, उनले दिगो विकासका रणनीति कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार र मानवीय समस्या, डिजिटल गभर्नेन्स र प्रविधिको उपयोग तथा बहुपक्षीय हितका लागि राष्ट्रसंघको पुनर्संरचनालगायतका विषयहरूमा पनि महत्त्वपूर्ण छलफल हुने बताए।

महासचिव गुटेरेसले विश्वले विभिन्न किसिमका द्वन्द्वको सामना गरिरहनुपरेको विद्यमान अवस्थामा उपयुक्त रणनीति तथा कार्यक्रमसहित तिनको सम्बोधन गर्नेतर्फ राष्ट्रसंघको ध्यान जानुपर्ने धारणा व्यक्त गरे।

जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विभाजन र आणविक जोखिमजस्ता समस्याका कारण समग्र विश्व प्रभावित भएको उल्लेख गर्दै महासचिव गुटेरेसले आपसी सहयोग, संवाद र सहकार्यमार्फत समस्या समाधान गर्नका लागि महासभा उपयुक्त मञ्च भएको बताए।

महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले एक विज्ञप्ति जारी गर्दै ८१औं महासभाले रचनात्मक र उपलब्धिमूलक संवादको अपेक्षा गरिएको जनाएको छ। यसैगरी, महासभामार्फत संवाद र सामूहिक प्रयत्नबाट विश्वशान्ति, विकास, मानवीयता र जलवायु न्यायका पक्षमा काम गर्न इच्छुक रहेको नियोगले उल्लेख गरेको छ।

नियोगले राष्ट्रसंघीय महासभाको अध्यक्षका रूपमा पदभार ग्रहण गरेकामा बंगलादेशी कूटनीतिज्ञसमेत रहेका रहमानलाई बधाई ज्ञापनसमेत गरेको छ।

यसैबिच, मंगलबार नेपालका तर्फबाट राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित देशहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता र नतिजामुखी प्रतिफल प्राप्तिका लागि विकासको गति बढाउन आग्रह गरे।

थापाले अल्पविकसित देशहरू सम्मिलित अफ्रिकी मुलुकहरूको मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकका अवसरमा सो धारणा व्यक्त गरेका हुन्।

कम विकसित देशहरूको समूहगत अध्यक्षका हैसियतले सम्बोधन गर्दै नियोग प्रमुख थापाले उत्पादन क्षमता वृद्धि, डिजिटलाइजेसन, जलवायु परिवर्तनमा लचिलोपन, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा र दिगो विकासका लागि वित्तीय स्रोत एवं प्रतिबद्धताअनुसार काम गर्न अपिल गरे।

चर्चित समाचार


भर्खरै प्रकाशित