रौतहट — बालबालिका, युवा तथा सामाजिक क्षेत्रमा विगत सात वर्षदेखि सक्रिय रहँदै योगदान पुर्याउँदै आएका गुजरा नगरपालिका–४ कनकपुर निवासी युवा अभियन्ता अब्दुल सलाम सम्मानित भएका छन्।
जिल्ला समन्वय समिति रौतहटको आयोजनामा सम्पन्न रौतहटस्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रमका अवसरमा सलामलाई बालबालिकाको क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो।
सलामलाई जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव, प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल तथा जिल्ला समन्वय अधिकारी लेखनाथ खतिवडाले कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
कदरपत्रमा बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन एवं बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने कार्यमा निरन्तर सक्रिय रही बाल क्लब तथा बाल क्लब सञ्जालको संस्थागत विकास, बालअधिकारसम्बन्धी सचेतना अभिवृद्धि, बालमैत्री वातावरण निर्माण तथा बालबालिकाको आवाजलाई नीति तथा निर्णय प्रक्रियामा स्थापित गर्न सलामले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ।
त्यस्तै, बालअधिकारको सम्मान र संरक्षणमार्फत समतामूलक, सुरक्षित, न्यायपूर्ण तथा बालमैत्री समाज निर्माणमा उनले निर्वाह गरेको अनुकरणीय भूमिका आगामी पुस्ताका लागि समेत प्रेरणादायी रहने विश्वास व्यक्त गरिएको छ।
सम्मानपछि युवा अभियन्ता सलामले बालबालिकाको अधिकार, शिक्षा, सहभागिता र सामाजिक विकासका क्षेत्रमा आफूले गर्दै आएको अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
विगत सात वर्षदेखि बालबालिका, युवा तथा सामाजिक कार्यमा सक्रिय सलामले विभिन्न सामाजिक अभियान तथा बालअधिकारसम्बन्धी गतिविधिमा सहभागिता जनाउँदै आएका छन्। उनको सम्मानलाई स्थानीयस्तरमा बालबालिका तथा युवाको क्षेत्रमा सक्रिय व्यक्तिहरूको योगदानको पहिचानका रूपमा समेत हेरिएको छ।





