वैशाख २१, रौतहट/ मेवालाल यादव। नेपाल–भारत सीमाको सिमानामा अवस्थित रौतहट जिल्लामा तस्करीको गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। विशेषगरी लक्ष्मीपुर बेलबिछवा, गौर, महादेवपट्टी, र केरावारी , बन्जरहा , औरैया , मठिया , रामपुरखाप , बन्कुल जस्ता प्रमुख नाकाहरूबाट ठूलो मात्रामा मदिरा, कपडा, इन्धन, किराना , माछा , गिट्टी बालुवा , कुखुरा , सुर्ती जन्यपदार्थ र अन्य उपभोग्य वस्तुहरू तस्करी हुँदै आएका छन्।
हालै मात्र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रौतहटको लक्ष्मीपुर नाकाबाट २३ सय ७० बोतल सौफी मदिरासहित एक तस्करलाई पक्राउ गरिएको थियो । तस्करीको समयमा संलग्न अन्य तस्कर भने फरार भएका थिए। मदिरा तस्करीका यस्ता घटनाहरू बारम्बार भइरहेपनि त्यसको प्रभावकारी नियन्त्रण हुन सकेको छैन।
गौर नाका हुँदै भारतबाट सामान ओसार्ने कार्यमा भारतीय ट्याम्पो प्रयोग हुने गरेको पाइएको छ। स्थानीय जनताको आरोप छ कि सुरक्षाकर्मी र भन्सार कार्यालयका कर्मचारीहरूको मिलेमतोमा तस्करी खुलेआम भइरहेको छ। सशस्त्र प्रहरी बलका एक प्रमुख अधिकृतको निगरानीमा समेत तस्करीमा संलग्नता देखिएको छ।
यी क्षेत्रहरूबाट भारतीय बजारबाट ल्याइएका लाखौँ मूल्यका कपडा, जुत्ता र तयारी पोशाक नेपाल भित्र्याइन्छन्। स्थानीय स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी भइरहेको हो भन्ने आम बुझाइ बनिरहेको छ। केही तस्करहरूको स्थानीय राजनीतिक संरक्षणसमेत रहेको आरोप छ।
तस्करहरू खुलेआम सामान ओसार्नुले राज्यप्रति विश्वास घटाएको बताइन्छ। “हामीले सुरक्षाका लागि राखिएका प्रहरीनै तस्करीमा संलग्न छन् भने जनताको सुरक्षाको ग्यारेन्टी कसले लिने?” स्थानीय एक व्यापारीले भने।
रौतहटमा बढ्दो तस्करीले सुरक्षा, अर्थतन्त्र र सामाजिक संरचनामा नकारात्मक असर पारिरहेको छ। प्रशासनले तत्काल सुधार योजना ल्याई कडाइका साथ निगरानी नगरेमा तस्करी नियन्त्रण असम्भवजस्तै देखिन्छ।






