मनरा सिस्वा सीमाक्षेत्रमा कडाइ: दैनिक उपभोगमै समस्या, स्थानीय आक्रोशित

|

बैशाख ०६, महोत्तरी। महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं. १० अन्तर्गत पर्ने मरुवाही र भारतको सुरसण्ड जोड्ने सीमाक्षेत्रमा नेपाल सशस्त्र प्रहरीले पछिल्लो समय चेकजाँचमा कडाइ गरेको छ।

सीमाबाट आउने-जाने सामग्रीमा कडा निगरानी गर्दै १०० रुपैयाँभन्दा बढी मूल्यका सामान अनिवार्य रूपमा भन्सार तिरेर मात्र ल्याउनुपर्ने व्यवस्था लागू गरिएपछि स्थानीय सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्।

स्थानीय बासिन्दाका अनुसार यसअघि सामान्य घरायसी उपभोगका सामग्रीहरू भारतबाट सहज रूपमा ल्याउने गरिएको थियो। तर अहिले कडाइका कारण नुन, तेल, तरकारी, लत्ताकपडा जस्ता दैनिक आवश्यक वस्तु ल्याउन पनि कठिनाइ भइरहेको छ। सीमाक्षेत्रमै बजारको पर्याप्त व्यवस्था नहुँदा स्थानीयहरू भारततर्फ निर्भर रहँदै आएका थिए, तर अहिलेको नियमले उनीहरूको दैनिकी नै प्रभावित बनेको छ।

“हामी त दिनभरि ज्याला मजदुरी गरेर साँझ–बिहान गुजारा चलाउने मान्छे हौं, सानो–सानो सामान ल्याउँदा पनि कर तिर्नुपर्दा कसरी बाँच्ने?” एक स्थानीयले गुनासो गरे। उनीहरूका अनुसार आम्दानी कम र खर्च बढ्दै जाँदा आर्थिक संकट झन् गहिरिँदै गएको छ।

सशस्त्र प्रहरीको भनाइअनुसार सीमामा भइरहेको कडाइ अवैध तस्करी नियन्त्रण गर्नका लागि आवश्यक कदम हो। कर छलि, अवैध कारोबार र गैरकानुनी गतिविधि रोक्न यस्तो निगरानी बढाइएको जनाइएको छ। तर स्थानीयहरू भने यसको प्रत्यक्ष असर आफूहरूजस्ता सर्वसाधारणमाथि परेको बताउँछन्।

सीमाक्षेत्रका बासिन्दाले सरकारले नीतिगत रूपमा फरक व्यवस्था गर्नुपर्ने माग गरेका छन्। उनीहरूले साना परिमाणमा ल्याइने दैनिक उपभोगका सामग्रीमा सहजता दिनुपर्ने, निश्चित सीमा तोकेर छुटको व्यवस्था गर्नुपर्ने तथा स्थानीयको जीवनयापनलाई ध्यानमा राखी नीति बनाउनु पर्ने बताएका छन्।

यदि यस्तै कडाइ निरन्तर रहने हो भने सीमाक्षेत्रका बासिन्दाको जीवन अझ कष्टकर बन्ने भन्दै स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित