फाल्गुन १३, डेस्क। नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा स्थानीय एक जोडी प्रेम विवाहको विषयलाई लिएर दुई समुदायबिच भएको झडपमा २० जना घाइते भएका छन् । झडपका क्रममा स्थानीयहरुले प्रहरीको गाडी जलाइदिएका छन् ।
करिब ४ महिना अगाडि फरक समुदायका युवा युवतिबिच विवाह भएपछि विवाद भइरहेको गाउँमा आज गाडीले मान्छे हानेको विषयलाई लिएर विवाद उग्र बनेको थियो ।
नवलपरासी पश्चिमका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले घटनाबारे भने, ‘गाडीले ठक्कर दिएको विषयलाई दिएर दुई समुदायबिच विवाद भयो । विवाद मिलाउन जाँदा केही प्रहरी र दुई स्थानीय घाइते भएका छन् । भने प्रहरीको गाडी जलाइएको छ। उनका अनुसार ५ जना स्थानीय , १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी स्थानीयले बलेको टायर फालेर जलाइदिएको उनले बताएका छन् ।





