माघ २५, डेस्क । महोत्तरीबाट ६०४ किलो गाँजा सहित एक जना पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले ४० पोकामा रहेको ६०४ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जमुनियाको टोलीले हिजो बिहीबार राति उक्त गाँजा बरामद गरेको हो ।
प्रदेश २–०४–००१ख ००२१ नम्बरको ट्रकको हुडमा डोरीले बाँधी कालो प्लास्टिकले छोपी जलेश्वर बर्दीबास सडकखण्डस्थित भंगहा नगरपालिका– ६ मजराबाट प्रहरीले गाँजासहित चालकलाई नियन्त्रणमा लिएको हो ।
सूचनाको आधारमा प्रहरीको संयुक्त टोलीले गाँजासहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले जानकारी दिए । उनले गाँजासँगै ट्रकचालक उदयपुर कटारी नगरपालिका– १ बस्ने २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको बताए । मनि यस घटनाबाट थप अनुसन्धान भइरहेको छ।





