भाद्र १३, भारत। भारतको गुजरात राज्यमा अविरल वर्षाका कारण कयौँ क्षेत्र डुबानमा परेका छन् । सौराष्ट्र र मध्य गुजरातमा विगत ४८ घण्टादेखि वर्षाको तीव्रता र अनुपातमा कमी नआएपछि धेरै गाउँ र सहरहरु डुबानमा परेको बीबीसी हिन्दीले जनाएको छ।
बाढीबाट वडोदरा सहर सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ धेरै ठाउँमा पानी जमेको छ, अवस्था नाजुक छ। समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातमा भारी वर्षाका कारण दुई दिनमा १६ जनाको मृत्यु भएको छ । बाढीका कारण यहाँका धेरै क्षेत्रमा मानिसहरू अलपत्र परेका छन् ।
स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता रुषिकेश पटेलले केही क्षेत्रमा १० देखि १२ फिटसम्म पानी जमेको बताएका छन्। गुजरातको सौराष्ट्रमा विशेषगरी द्वारका, जामनगर, पोरबन्दर, मोरबी, जुनागढ र राजकोट जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ। अविरल वर्षाका कारण नदीमा पानीको बहाव निकै बढेको छ।
गुजरात सरकारका अनुसार भारी वर्षाका कारण अहिलेसम्म २३ हजार ८७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । बडोदरा र जामनगरमा उद्धारका लागि वायुसेना तैनाथ गरिएको छ ।






