भाद्र ०८, महोत्तरी / साजन कुमार। महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–०१ लाई एक विशेष समारोहका बीच “बालविवाहमुक्त वडा” घोषणा गरिएको छ।
स्थानीय सरकार, सरोकारवाला निकाय, महिला, बालबालिका तथा समुदायको सक्रिय उपस्थितिमा गरिएको यस घोषणाले बाल अधिकार संरक्षण र सामाजिक रूपान्तरणतर्फ ऐतिहासिक कदम चालेको छ।
“हामी सबैको एकता, बालविवाह विरुद्धको साझा प्रतिबद्धता” भन्ने नारासहित आइतबार सो वडालाई आधिकारिक रूपमा बालविवाहमुक्त घोषणा गरिएको हो। यस अभियानमा रतौली युवा क्लब, सेभ द चिल्ड्रेन, दलित जनजाति कल्याण समिति लगायतका संस्थाको सहकार्य रहेको थियो।
वडाध्यक्ष राजेश दासले बालविवाह रोक्न गरिएको निर्णय सकारात्मक भएको बताउँदै कार्यान्वयनलाई अझ प्रभावकारी बनाइने उल्लेख गर्नुभयो। उहाँका अनुसार सानो उमेरमा हुने विवाहले प्रजनन स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यस्ता अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको हो।
यस अवसरमा रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीले महोत्तरी क्षेत्रमा बालविवाहको समस्या गम्भीर रहेको बताउँदै सूचकहरूका आधारमा न्यूनीकरणका लागि अभियान निरन्तर सञ्चालन भइरहेको जानकारी दिनुभयो।
गाउँपालिका उपाध्यक्ष वन्दना पाण्डेले बालविवाह कानुन अनुसार अपराध भएको प्रष्ट पार्दै वडास्तरमा निगरानीलाई बलियो बनाइने बताउनुभयो।
गाउँपालिका अध्यक्ष रामजानकी यादवले यस अभियानमा स्थानीय सरकारसँगै गैरसरकारी संस्था र समुदायको भूमिका अत्यन्तै प्रशंसनीय रहेको भन्दै बालविवाह भएको खण्डमा कानुन अनुसार कडाइका साथ कारबाही गरिने चेतावनी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बालविवाहमुक्त घोषणा महत्त्वपूर्ण पहल भएको उल्लेख गर्दै कानुन विपरीत काम गर्नेहरूलाई कारबाही हुने चेतावनी दिनुभयो।
प्रमुख अतिथि, मधेश प्रदेशका अर्थमन्त्री सुनील कुमार यादवले बालविवाह समाजका लागि घातक भएको बताउँदै सबैलाई कानुनको पालना गर्न आग्रह गर्नुभयो। साथै उहाँले प्लास्टिकको प्रयोग रोक्दै वातावरणमैत्री व्यवहारमा फर्किनुपर्नेमा पनि जोड दिनुभयो।
कानुनका मापदण्ड पूरा भएपछि मात्रै वडा नं. १ लाई बालविवाहमुक्त घोषणा गरिएको गाउँपालिकाले जनाएको छ।







