कुहिरो र शीतलहरको कारण तराईको जनजीवन प्रभावित, विद्यालयहरु बन्द

|

माघ ११,जनकपुरधाम। तराईका विभिन्न जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित बन्दै गएको छ। पूर्वी तराईदेखि पश्चिम तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।

शीतलहर र अत्यधिक चिसोले बाँके, बर्दिया लगायतका पश्चिम तराईका जिल्लामा जनजीवनलाई अझै कठिन बनाएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र अस्पतालका बिरामीहरूलाई यसले गम्भीर असर गरेको छ। यात्रुहरू पनि कम भिजिबिलिटीका कारण लामो र छोटो दुरीको यात्रा गर्दा समस्या भोगिरहेका छन्।

चिसो अत्यधिक भएपछि नेपालगञ्ज र खजुरा क्षेत्रका सबै विद्यालयहरू तीन दिनका लागि बन्द गरिएको छ। यता, बाक्लो हुस्सुले नेपालगञ्ज विमानस्थलमा भिजिबिलिटी कम गर्दा हवाई सेवा समेत प्रभावित भएको छ।

जनजीवनमा गम्भीर असर परेका कारण स्थानीय सरकारले चोकचोकमा दाउरा बाल्ने व्यवस्था गर्नुपर्ने र गरिब तथा विपन्न समुदायलाई न्यानो कपडा वितरण गर्नुपर्ने स्थानीयको माग छ। अत्यधिक चिसोले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्ने भएकाले बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन सरोकारवालाले आग्रह गरेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित