मंसिर ३०,काठमाडौं। काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को प्ले अफ होडमा बलियो दाबेदारी राखेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको पहिलो खेलमा यसअघि नै प्ले अफ होडबाट बाहिरिसकेको विराटनगर किङ्ग्समाथि एक विकेटको रोमाञ्चक जित दर्ता गर्दै काठमाडौंले प्ले अफ सम्भावना बलियो बनाएको हो ।
विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेटको क्षतिमा पूरा गरेको हो । काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रनको योगदान गरे । ३४ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । यसैगरी शंकर राना १४ रन तथा दिपेश कँडेल ११ रनमा अविजित रहे । दिपेशले ५ बलमा एक छक्का र एक चौकाको मदतमा हार्ने अवस्थामा पुगेको काठमाडौंलाई जिताए ।
त्यसअघि राशिद खानले १४ रन, गेहार्ड इरामसले १२ रन, माइकल लेभिटले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।
बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । ४ ओभरमा मात्र १९ रन खर्चिएर ३ विकेट लिएका हुन् । तर, टोलीलाई जिताउन सकेनन् । क्रिस सोल, बसिर अहमद तथा अनिल खरेलले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको थियो ।






