३० असोज, डेस्क । मिथिलाञ्चल क्षेत्रमा ‘कोजाग्रत पर्व’को तयारी तीव्र रूपमा अघि बढिरहेको छ।
असोज शुक्ल पूर्णिमाको रातमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा र आराधना गरिन्छ। पूर्णिमा तिथि आज साँझदेखि सुरु भएपछि कोजाग्रत पर्वका धार्मिक विधिहरू प्रारम्भ गरिनेछन्।
यस रात सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीमा विचरण गर्दै ‘को जागिरहेको छ?’ भनेर अवलोकन गर्छिन् भन्ने मान्यता रहेको छ, जसका कारण यो पर्वलाई ‘कोजगरा’ (कोजाग्रत) भनेर चिनिन्छ।
मिथिला क्षेत्रमा यो रातभर जाग्राम बसेर देवीको पूजा गर्ने परम्परा छ। जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाको आयोजना गरिन्छ।
पान, मखानसहित महालक्ष्मीको पूजा गरिन्छ, र भोलिपल्ट बिहान सूर्योदयसँगै पूजा समापन हुन्छ।
महालक्ष्मीको आराधना गर्दा दरिद्रता हट्ने र सम्पन्नता आउने जनविश्वास छ। यस दिन मिथिला क्षेत्रमा दूध, मखान र पान खाने परम्परा पनि छ।
सौन्दर्य र सुखको प्रतीक मानिने पान र मखानले कोजाग्रतको विशेष महत्त्व झल्काउँछ।





