भाद्र ०९, जलेश्वर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हिजो शनिवार राति जनकपुरधामस्थित प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् भने आज मुख्यमन्त्री सिँहले प्रादेशिक अस्पताल जलेश्वरमा छड्के अनुगमन गरेका छन् ।
अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह र प्रयोगशाला लगायत निरीक्षण गरेका छन् । ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितता आदिका बारेमा उनले जानकारी लिएका छन् ।
अस्पतालका चिकित्सकले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्र्याइँ गरिरहेको गुनासा आएपछि मुख्यमन्त्री सिंहले आज आइतबार साँझ अचानक निरीक्षण गर्न पुगेका छन् ।
निरीक्षणक्रममा उनले अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरेका छन् ।






