जेष्ठ २२,डेस्क। महिला अधिकारकर्मीहरू बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले निर्दोष महिलालाई अपराधमा फसाउन लागेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन् ।
अधिकारकर्मी रुबी खानको नेतृत्वमा महिलाहरूले ६ दिनदेखि धर्ना दिइरहेका छन् । जानकी गाउँपालिका- २, बकोटीयाको फुलपुरवा र दमादन पुरवाबीच भएको हत्याको घटनामा एकल महिला माहेलका तेलीलगायत गरिब तथा ज्याला-मजदुरीबाट निर्वाह गर्ने व्यक्तिलाई फसाउन लागिएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले प्रहरी प्रमुख कार्की र अनुसन्धान अधिकृतमाथि कारबाहीको माग गरेका छन् ।
‘घटनासँग कुनै सम्बन्ध नभएकी एकल महिलालाई जर्बजस्ती मुद्दा लगाउन खोजिएको छ । दिनभर उभ्याउने, यातना दिने र अनेक धाकधम्की दिने काम रोक्नुपर्ने हाम्रो माग छ,’ अभियन्ता खानले भनिन् ।प्रहरीले अपराधसँग नजोडिएका अभियन्तालाई पक्राउ गर्ने र महिला हिंसाका वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै माग सम्बोधन गर्न २३ जेठसम्मको अल्टिमेटम दिएका छन् । ‘बिना आधार प्रहरीमा बोलाएर उभ्याएको छ, फसाउने षड्यन्त्र भइरहेको छ । गरिब र मजदुरको मानवअधिकार हुँदैन ?,’ खानले भनिन्, ‘२३ जेठसम्म गल्ती नसच्याए हामी आमरण अनशन बस्छौँ ।’





