जेष्ठ २१, डेस्क। आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको पहिलो खेलमा नामिबियाले ओमानमाथि रोमाञ्चक जित हाथ परेका छन्। बार्बाडसस्थित केसिङ्टन ओभलमा खेलिएको उक्त खेलमा नामिबिया ‘सुपर ओभर’ मा विजयी भएको हो ।
टी–२० विश्वकपको इतिहासमा १२ वर्षपछि कुनै पनि खेलेको छिनोफानो ‘सुपर ओभर’ बाट भएको हो । समग्रमा भने टी–२० विश्वकपको इतिहासमा ‘सुपर ओभर’ बाट हार–जितको निर्णय निकालिएको यो केवल तेस्रो पटक हो ।
यसअघि सन् २०१२ मा श्रीलंकामा सम्पन्न चौथो टी–२० विश्वकपमा ‘सुपर ओभर’ बाट हार–जितको निर्णय निकालिएको थियो ।
सोमबार बार्बाडसमा खेलिएको ओमान र नामिबियाबिचको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एसियाली राष्ट्र ओमानले १९.४ ओभरमा अलआउट हुनुअघि एक सय नौ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अफ्रिकी राष्ट्र नामिबियाले पनि निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय नौ रनमात्र बनाउन सक्यो ।
त्यसपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा नामिबियाले पहिले ब्याटिङ गर्दै कुनै पनि विकेट नगुमाई २१ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले भने सुपर ओभरमा एक विकेट गुमाएर १० रनमात्र बनाउन सक्यो ।






