मंसिर२,डेस्क।मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीहरु बीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ। यो पर्व १० दिनसम्म चल्ने छ। पर्वको ११औं दिन पूर्णिमाको रात सामा चकेवालाई विसर्जन गरी पर्व समापन गरिन्छ।
दस दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन्। पर्वको पहिलो दिन आज बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइका हातबाट खनेर ल्याएकोे माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउन थालेका छन्।
सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङले रङ्गीचङ्गी बनाइन्छ । त्यसपछि सामा चकेवालाई राति रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीतसहितको नृत्य गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने गर्दछन्।






