चैत्र २४, डेस्क। बसको ठक्करबाट डियुटीमा रहेका ट्राफिक प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा शुक्रबार राति सवा ११ बजे डियुटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।
काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१- ०० ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले बताएका छन्। मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले बताएका छन्।
प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।





