फाल्गुन ०३,डेस्क। रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा एकजना गम्भीर घाइते भएका छन्।
ईशनाथ नगरपालिका –५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँको अडुवा नदीमा मुर्ति सेलाउन जाने क्रममा मोतिपुर गाउँमा मुस्लिम समुदायका केही मानिसले ढुंगामुढा गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्य कैयौँ लाई चोटपटक लागेको हो। सो क्रममा त्यहाँ उपस्थित रहेका प्रहरी मूकदर्शक बनेको नरेश पासवानको आरोप छ।
सरस्वती माताको मूर्ति लिएर दर्जनौँको सङ्ख्यामा गइरहेकाहरू माथि एक्कासि ढुंगामुढा प्रहारसँगै खुर्सानीको धूलो फालिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
घटनाको खबर लगत्तै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ घटनास्थल पुगेका छन्। हाल हिन्दु समुदायका मानिसहरू मूर्ति बाटोमा राखेर धर्नामा बसेका छन्। एसपी श्रेष्ठ सहितको टोली घटनाको छानबिन गरिरहेको त्यहाँ पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।
घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ।





