भक्तपुर, साउन १०, २०८३। महिला अधिकार, लैङ्गिक समानता र सामाजिक न्यायका क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्ने उद्देश्यका साथ योगमाया न्यौपाने स्मृति महिला अधिकार फोरमको प्रथम बैठक भक्तपुरस्थित वान्टेड क्याफेमा सम्पन्न भएको छ। बैठकले संस्थालाई प्रभावकारी, पारदर्शी र उद्देश्यअनुरूप सञ्चालन गर्ने लक्ष्यसहित सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको छ।
बैठकबाट श्रुति तिवारी अध्यक्ष, सृष्टि ठाकुर उपाध्यक्ष, खुशी चौरसिया सचिव तथा मोनालिसा यादव सह–सचिवमा चयन हुनुभएको छ। त्यसैगरी मान्सी नेपाली शाहलाई फोरमको सञ्चार प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ।
यसैगरी कार्यसमितिका सदस्यहरूमा कोमल साह, नम्रता अधिकारी र मनिषा साह चयन हुनुभएको छ। फोरमका सल्लाहकारका रूपमा दिवस सर्राफ र अर्जुन शाहलाई मनोनयन गरिएको बैठकले जनाएको छ।
बैठकले संस्थाको दीर्घकालीन विकासलाई ध्यानमा राख्दै फोरमको ब्रान्डिङ, वेबसाइट निर्माण तथा सामाजिक सञ्जालको प्रभावकारी सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। साथै महिला अधिकारको संरक्षण र प्रवर्द्धन, लैङ्गिक समानताको प्रवर्द्धन, महिला नेतृत्व विकास तथा सामाजिक न्यायका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
नवनिर्वाचित कार्यसमितिले फोरमको उद्देश्य, नीति तथा विधानअनुरूप महिला अधिकार, महिला सशक्तीकरण र सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रिय, पारदर्शी, उत्तरदायी र परिणाममुखी ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाएको छ।
फोरमले आगामी दिनमा महिला हक–अधिकारका सवालमा सचेतना अभिवृद्धि, क्षमता विकास, नीति पैरवी तथा समुदायमा आधारित कार्यक्रममार्फत महिलाको सशक्त सहभागिता सुनिश्चित गर्दै सामाजिक रूपान्तरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।





