सुनसरीका पाँचवटा पालिकामा आज पनि कर्फ्यु जारी

|

चैत्र २४, डेस्क। सामाजिक संजालमा राखेको भिडियो क्लिपका कारण सुरु भएको विवादले स्थिति तनावग्रस्त बनेपछि सुनसरीका पाँचवटा पालिकामा आज पनि कर्फ्यु जारी छ।

दुई समूहबीच भएको झडपले उग्र रुप लिएपछि शुक्रबार बेलुकाबाट जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।

कर्फ्यू हटाउनका लागि स्थानीय प्रशासनले सर्वदलीय छलफल आह्वान गरेको थियो । छलफल जारी रहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । उनका अनुसार छलफलपछि कर्फ्यूका बारेमा निर्णय हुनेछ ।

शुक्रबार दिनभर अशान्त रहेको सुनसरीको दक्षिणी क्षेत्रको अवस्था कर्फ्युका कारण आज सामान्य छ । प्रहरीको उपस्थिति ब्यापक रहेको छ ।

हरिनगर गाउँपालिका– १ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिटको कारण भने फेसबुकमा राखेको भिडियो थियो । कुटपिटपछि हिन्दु र मुसलमान समुदायबीच विवाद भएको थियो । विवादका कारण भुटाहा क्षेत्र दिनभर अशान्त भएको थियो ।

भुटाहामा शुक्रबार भएको झडपमा परी १० जना आन्दोलनकारी र १८ जना प्रहरी पनि घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित