साउन १८, डेस्क। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।
आज शुक्रबार बिहान राष्ट्रिय परीक्षा बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९० हजार ८६८ र ग्रेडवृद्धितर्फ १ लाख १९३ जना विद्यार्थीले परीक्षा आवेदन भरेकामध्ये २ लाख ३१ हजार २३६ वlद्यार्थीले ग्रेड प्राप्त गर्न सफल भए अर्थात् उत्तीर्ण भएका छन्।
त्यस्तै ३.६१ देखि ४ जिपिए ल्याउने ९ हजार ५९१ जना रहेका छन्। ३.२१ देखि ३.६० जिपिए ल्याउने ४६ हजार ८९३ जना रहेका छन्। २.८१ देखि ३.२० जिपिए ल्याउने परीक्षार्थीको संख्या ७८ हजार ७५ जना छन्। २.४१ देखि २.८० जिपिए ल्याउनेको संख्या ६१ हजार ३६, जिपिए २.०१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ८ हजार २४० जना छन्। १.६० देखि २.० जिपिए ल्याउने विद्यार्थी संख्या १२ जना छन्।
यसरी कुल ३ लाख ९० हजार ८६८ परीक्षार्थीमध्ये २ लाख ३ हजार ८४७ जनाको ग्रेडिङ भएको छ। अर्थात् ५२.९१ प्रतिशत उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रक शर्माका अनुसार १ लाख ८७ हजार २१ जना विद्यार्थी नन ग्रेडमा परेका छन्। तीमध्ये १ लाख २७ हजारले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्।
यसपालि १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ परीक्षार्थी अनुपस्थित रहे। राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट र नेपाल टेलिकमको वेभसाइटबाट परीक्षाफल हेर्न सकिन्छ।
साथै NEB टाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर राखी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ। १६०० मा फोन गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।





