साउन १४, डेस्क। आज साउन महिनाको दोस्रो सोमबार परेकोले सोमवारी गर्ने व्रतालु महिला तथा युवतिहरुको घुइँचो जनकपुरधाम लगायत आसपासका विभिन्न शिवालयहरुमा छन ।
पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल हलेसी महादेव मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन आएका छन्। साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन रहेको छ ।
जनकपुरधामको शिवचोक स्थित रहेको शिव मन्दिर, जनकचोकमा रहेको शिव मन्दिर, कपिलेश्वरमा रहेको कपिलेश्वरनाथ महादेव मन्दिर लगायत आसापासका क्षेत्रहरुमा रहेको शिवालयहरुमा भीड लागेको छ ।
हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ ।
यसरी विशेष रूपमा गरिने यो पूजालाई भक्ति भावले गरेपछि नागदेवता प्रसन्न हुन्छन् र पतिलाई दिर्धायू र घरपरिवारलाई कल्याण गर्छन् भने कुमारी महिलाहरुलाई सुन्दर र शुशिल वर पाउने मधेशी मान्यता अनुसार विश्वास रहेको छ ।





