असार १४, डेस्क। रामेछापबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
शुक्रबार आज बिहान साढे ८ बजे रामेछापको गैरीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखुतामाकोशी गाउँपालिका-६ बिर्ता लाकुरीडाँडामा दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कच्ची सडक भासिएर यात्रुवाहक बस सडकबाट करिब २० मिटर तल खसेको हो। उक्त गाडीमा जम्मा २५ जना सवार भएका थिए।
घाइतेहरूमा चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ पिस्करका ४० वर्षीय यादव खत्री, गाडीका साहु दोलखा भिमेश्वर नगरपालिका-५ का ४२ वर्षीय दीपक श्रेष्ठ रहेका छन्।
घाइते यात्रुहरू रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ का स्थानीय २१ वर्षीया सबिना श्रेष्ठ, उनकी छोरी १ वर्षीया सुजता श्रेष्ठ, ४२ वर्षीय साबित्रा घिमिरे, ५७ वर्षीय मानबहादुर श्रेष्ठ, ५० वर्षीय टेक बहादुर श्रेष्ठ, १९ वर्षीय झलकबहादुर श्रेष्ठ, ४४ वर्षीया शंक कुमारी तामाङ र ४१ वर्षीया सकुन्तला श्रेष्ठ छन् ।
घाइतेहरुको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो। भने यस घटनाबारे थप अनुसन्धान भईरहेको पनि जानकारी दिएका छन्।





