मिथिलाञ्चलमा मनाइदै वटसावित्री पर्व

|

जेष्ठ २४,डेस्क। मिथिलाञ्चलमा शुक्रवार वटसावित्री अर्थात् वरसाइत पर्व मनाइएको छ।

विवाहित महिलाले मनाउने यो पर्वलाई लिएर वटवृक्ष भएको ठाउँमा पूजाका लागि महिलाको बिहानैदेखि भीड लागेको छ। पर्वमा महिलाहरू नयाँ सारी,साया लहठी, शृंगारका समानका अतिरिक्त पूजाको सामग्री किन्छन्। नव विवाहित महिलाहरूका लागि यो पर्वमा बेहुलाको घरबाट पूजाको सामग्रीका अतिरिक्त पाहुर समेत आउँछ।

वटसावित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वको रूपमा लिइन्छ। मिथिला संस्कृतिमा यो पर्व आदर्श नारीत्वको प्रतीक बनेको छ। यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष ज्येष्ठ महिनाको औँसी तिथिमा मनाइन्छ। हिन्दु धर्ममा वरको बोटको महत्व रहेको छ। वरको बोटमा भगवान् ब्रह्मा, विष्णु र महेशको वास हुने पुराणमा स्पष्ट भनिएको छ। यो वृक्षमुनि बसेर पूजा, व्रत कथा आदि सुन्दा मनोकामना पूर्ण हुने जनविश्वास छ। वरको बोट आफ्नो विशालताका लागि प्रसिद्ध छ।

दार्शनिक दृष्टिबाट वरको बोट दीर्घायु तथा अमरत्व बोधको प्रतीकको रूपमा स्वीकार गरिएको छ। वरको बोट ज्ञान र निर्वाणको पनि प्रतीक मानिएको छ। भगवान् बुद्ध यही वृक्षमुनि ज्ञान प्राप्त गरेका थिए। वरको वृक्षमुनि श्रीमानको दीर्घायुका लागि पूजा गर्नु यो पर्वको अंग बनेको छ।

महिलाहरूले व्रतपूजा गरी कथा सुनेर वरको वृक्षमा सुतीको धागो बाँध्छन्। वरसाइत पर्वलाई सावित्री तथा सत्यवानको कथासँगै जोडिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित