जेठ २४,डेस्क। नेपाली कांग्रेसका सांसदले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कामको समर्थन गर्दै उनको अभियानमा अवरोध नगर्न आग्रह गरेका छन् । काठमाडौंको न्युरोडमा फूटपाथ विस्तार गर्ने महानगरको प्रयासलाई लिएर संसदमा कांग्रेस सांसदहरूले समर्थन जनाएका हुन् ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा कांग्रेस सांसदले महानगरको काममा हस्तक्षेप नगर्न केन्द्र सरकारसँग आग्रह गरेका हुन् । विशेष समयमा महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा सडक पेटी विस्तार गर्ने काम सही भएको बताए ।
‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि ! त्यही तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ । तिनले त्यहीँ भने भइगयो नि मेयरसाब संयमले बोल्नुस् । जेल बसेका नेताहरूको सम्मान राखेर बोल्नुस् । यो तपाईँको शैली बदल्नुस् । यो प्रकरणमा म केवल यतिमात्रै भन्न चाहन्छु, संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ,’ शर्माले भने, ‘न्युरोडमा नागरिकका सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए ठीक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिइनु पर्छ । संघले यसमा कुनैपनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ, म यो आग्रह गर्न चाहन्छु ।’
न्युरोडमा सडक विस्तार गर्ने काममा सडक विभागले हस्तक्षेप गरेपछि मेयर बालेनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टी स्टेजको अनियमिततासँग जोडेर सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । त्यसपछि एमाले सचिव योगेश भट्टराईले संसदमा बोलेर बालेनको शैलीप्रति आपत्ति जनाएका थिए ।
बिहीवार नै कांग्रेस सांसद कान्तिका सेजुवालले मेयर बालेनलाई काम गर्न दिनुपर्ने बताएकी छिन् । ‘काठमाडौं महानगर र संघीय सरकारको विवाद चुलिएको छ, कि सरकारले ऐन नै खारेज गर्नुपर्यो । होइन भने बालेनलाई काम गर्न किन नदिने ?,’ संसदको शून्य समयमा सेजुवालले भनिन्, ‘इन्द्रचोक र वसन्तपुर ठमेलमा किन गाडी चल्ने सडक चाहियो । बालेनको भिजनलाई समर्थन गर्दछु । भौतिक मन्त्रालयसँग पैसा धेरै छ भने कर्णालीमा लगानी गरोस् ।’





