माघ २३,डेस्क। महोत्तरीको मनरा सिस्वा नगरपालिकाका पदाधिकारीले करोडौ रुपियाँ बराबरको भात र खाजा खाएका छन्। मनरा सिस्वा नगरपालिकाको जनप्रतिनिधिले १ करोड १ लाख १६ हजार बराबरको भात र खाजा खाइदिएका छन्।
नियमअनुसार पाउने सेवा सुविधा बुझेर पनि थप १ करोड रुपियाँ बराबरको खाना खाएर नियमविपरीत खर्च गरेको पाइएको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महोत्तरीको मनरा सिस्वा नगरपालिकाका जनप्रतिनिधिले आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा ५२ लाख ४९ हजार ९०० रुपियाँ खानामै खर्च गरेका छन् । त्यस्तै आर्थिक वर्ष ०७७/०७८ को एक बर्षमा ४८ लाख ६६ हजार ५८९ रुपियाँ खाजा खानामा खर्च गरेका छन्।
गाउँ सभा तथा नगर सभाका पदाधिकारीले प्रदेश कानुनअनुसार बैठक भत्ता, यातायात, टेलिफोन, अतिथि सत्कार, समन्वय सहजीकरण, खानेपानी, बिजुली, सरसफाइ, चाडपर्व खर्च आदि शीर्षकमा सेवा सुविधा पाउँदै आएका छन् । नियमअनुसार जनप्रतिनिधिले पाउने सुविधा बुझेर पनि खाना खर्चबापत स्थानीय तहका पदाधिकारी तथा जनप्रतिनिधिले थप १ करोड १ लाख १६ हजार रुपियाँ खर्च गरेका हुन्।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रहेर गर्नुपर्नेमा स्थानीय तहले खाना खाएर गरेको खर्च नियन्त्रण गर्नुपर्ने महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले टिप्पणी गरेको छ । भने एस्तो खर्चमा मित्ब्यता कायम गर्नुपर्ने भनेका छन्।





