पुस १७, डेस्क । महोत्तरीको मनरा सिस्वा नगरपालिकामा हिजो राती डकैती भएको छ । लुटेरा समूहको कुटपिटबाट घरका दुईजना महिला घाइते भएका छन् ।
मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछिमबारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको प्रहरीले जनाएको छ ।
बिहीबार राति घरेलु हतियारसहित पाँच जनाको सङ्ख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो ।
समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताए । सुन र चाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाखभन्दा बढीको धनमाल लुटेको पीडितले जनाएका छन् ।
जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दाहालले घटनास्थलमा प्रहरी परिचालन गरी यस घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।





