पुस १८, डेस्क। अमेरिकाबाट पार्सल गरी आएको लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। उनीको साथबाट लागुऔषधसहितको कार्टुन समेत बरामद भएको थियो।
विदेशबाट लागुऔषध ओसारपोसार हुँदैछ भन्ने सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध ब्यूरो वीरगन्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई कलैया उपमहानगरपालिका–१ मोतिबागस्थित जिल्ला हुलाक कार्यालयबाट पक्राउ गरेको हो।
उनीहरुको साथबाट ‘पपक्रम मिक्स ट्रिओ’ लेखिएको रातो रंगको टिनको डब्बा भित्र गाँजा ३ तीन प्याकेट, ‘ओल्ड फेसन ओएट्स’ लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट र ‘क्विक ओएट्स’ लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट गरी जम्मा लागुऔषध गाँजा १ किलो १४६ ग्राम बरामद भएको प्रहरीको भनाई छ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१ टोल सिसवा वारी बस्ने वर्ष २२ को नैमोदिन मियाँ, छपकैया बस्ने वर्ष २७ को जितेन्द्र साह सोनार र वर्ष २२ को कृष्णा सराफ रहेका छन्।
उनीहरुविरुद्ध बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप जारी गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





