पुस १७, डेस्क। वैदेशिक रोजगारीमा पठाईदिन्छु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनेर १० करोडभन्दा बढी रुपैया ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ललितपुर, कोन्ज्योसोम गाउँपालिका- १ का ४७ वर्षका लालबहादुर लामालाई पक्राउ गरेको हो ।
उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी बरामद भएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा उनले युवाहरुबाट १० करोडभन्दा बढी रकम उठाएको पाइएको छ ।
प्रहरीका अनुसार उनले लिथुवानिया, क्यानडा, सिंगापुर जस्ता देशमा पठाउने भन्दै एउटा युवासँग ५ लेखि १५ लाखसम्म लिएका थिए ।
उनले रकम लिएपछि वैदेशिक रोजगारीमा पाएनन्, कतिपय सिंगापुर पुगेर विमानस्थलबाटै नेपाल फर्काइएका थिए । पीडितहरुले दिएको उजुरीका आधरमा उनलाई मंगलबार दिउँसो काठमाडौंको शंखरापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, चाहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।





