लुम्बिनी चिनी मिल: प्रदूषण न्यूनीकरण नगरे सम्म मिल चलाउन नदिने चेतावनी

|

मंसिर १२,डेस्क। पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको प्रदूषण रोक्न माग गर्दै स्थानीयहरु आन्दोलित भएका छन्।

चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको भन्दै सुनवलको जनताहरुले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरेका छन्।

उद्योगबाट निस्किने धुँवा, खरानी र फोहोर पानी न्यूनीकरणका लागि कुनै उपाय नअपनाउँदा सुनवलवासी त्यसको प्रत्यक्ष मारमा परिरहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताए ।

चिनी मिलबाट सुनवल नगरपालिकाका वडा १, ३, ४ र ६ वडा प्रत्यक्ष मारमा परेको र यसबाट करिब ७० हजार जनसंख्या प्रभावित बनेको स्थानीयहरुको भनाइ छ ।

चिनी मिलले विगत वर्षदेखि नै मिलबाट प्रदूषण न्यूनीकरणका लागि विभिन्न सहमति सम्झौता गरेपनि हालसम्म कार्यान्वयन नगरेको आरोप पनि स्थानीयहरुले लगाएका छन् ।

चिनी मिलले प्रदूषण न्यूनीकरण नगरे सम्म मिल चलाउन नदिने उनले चेतावनी दिए ।

२०४६ सालमा तत्कालीन श्री ५ सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेड स्थापना भएको थियो ।

८६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरी ३ वटा कारखाना सञ्चालनमा छन् ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित