मंसिर ८,डेस्क। श्रमजीवी पत्रकार संघ नेपालले कान्तिपुर मिडिया ग्रुपविरुद्ध,कान्तिपुरमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीको पक्षमा आज देखि दोस्रो चरणको आन्दोलन गर्न थालेको छ।
शुक्रबार दिउँसो ४ बजेदेखि एक घण्टा थापाथली स्थित कान्तिपुरको मुख्यालय बाहिर धर्ना दिएको संघको अध्यक्ष जन्मदैव जैसीले जानकारी दिए। त्यसैगरी, भोलि कान्तिपुर संघर्ष समन्वय समिति सँग आन्तरिक छलफल गर्ने कार्यक्रम तय भएको छ।
आईतबार ऐन कार्यान्वयनका लागि छलफल गर्ने, सोमबार थापाथलीमा धर्ना बस्ने, मंगलबार १२ गते कान्तिपुरलाई एक रुपैयाँ सहयोग अभियान सञ्चालन गर्ने, बुधबार पुनः धर्ना दिने र बिहीबार ऐन कार्यान्वयनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउने उनले जानकारी दिए।
त्यसैगरी मंसिर १५ गते पनि धर्ना दिने कार्यक्रम राखिएको छ। मंसिर १६ गते सरोकारवालासँग छलफल गर्ने, मंसिर १७ गते सार्वजनिक स्थलमा अन्तरक्रिया तथा ऐन कार्यान्वयनका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने, मंसिर १८ गते धर्ना दिने, मंसिर १९ गते नागरिक समाजसँग अन्तरक्रिया गर्ने र मंसिर २० गतेदेखि नियमित रुपमा थापाथलीस्थित मुख्यालयमा धर्ना थालिने जैशीले जानकारी दिए।






