कार्तिक २९, डेस्क। आयोजक भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। चौंथो पटक फाइनल प्रवेश गर्ने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले पराजित गरेको हो। भारत यसअघि १९८३, २००३ र २०११ मा एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाउन सफल भएको थियो।
आयोजक भारतले टस जितेर पहिले ब्याटिङ गर्दै ३ सय ९८ रनको विशाल लक्ष्य दिएको थियो। जवाफमा न्युजिल्यान्डले ४८.५ ओभरमा अलआउट हुँदै ३ सय २७ रनमा समेटियो।
भारतले दिएको फराकिलो लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका ड्यारी मिचेलले सर्वाधिक १ सय ३४ रनको शतकीय इनिङ खेले। त्यस्तै कप्तान केन विलियमसनले ६९ रन बनाउँदा डेभन कनवे र रचिन रविन्द्रले समान १३-१३ रन बनाए। ग्लेन फ्लिप्स ४१ रनमा आउट भए।
भारतको जितमा मोहम्मद शामीले ७ विकेट लिए। उनी प्लेयर अफ द म्याच घोषित समेत भए। त्यस्तै जसप्रित बुमराह, मोहमद सिराज र कुलदीप यादवले समान १-१ विकेट लिए।
विराट कोहलीले ११३ बलमा १ सय १७ रन बनाएर आउट हुँदा उनले करिअरको ५० औं एकदिवसीय शतक प्रहार गर्दै सचिन तेन्दुलकरको कीर्तिमान भंग गरे। त्यस्तै श्रेयस अय्यरले ७० बलमा १ सय ५ रनको उच्च स्कोर बनाए। अय्यरले जारी विश्वकपमा लगातार दोस्रो शतक प्रहार गरे। त्यस्तै शुभमन गिलले ६६ बलमा ८० रन बनाउँदा रोहित शर्माले २९ बलमा ४७ रन बनाए।त्यस्तै भारतको उच्च स्कोरमा केएल राहुलले २० बलमा ३९ रनको अविजित इनिङ खेले। न्युजिल्यान्डका लागि टिम साउदीले २ विकेट लिए।
अब भारतले बिहीबार हुने दक्षिण अफ्रिका र अस्ट्रेलिया बिचको विजेतासँग आगामी आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।






