कार्तिक २४, डेस्क। मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्।
उहाँले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथाम सम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन्।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत फेसबुक मार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको डा ओममूर्तिले जानकारी दिए।
‘गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको हो। व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस कीर्तिमानले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत सावित हुने आशा गरेको छु’, उनले भने, ‘यो कीर्तिमानले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय बन्ने आशा छ।’
डा ओममूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्।





