निर्माणाधीन दुई प्रमुख सडकको दयनीय अवस्था : आवतजावत प्रभावित, स्थानीयद्वारा तत्काल मर्मतको माग

|

असार १७, सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मा निर्माणधीन सखरा–महुवा–मोहनपुर–राम्पुरा सडक तथा राम्पुरा–सखरा सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीयवासीको दैनिक आवतजावत अत्यन्त कष्टकर बनेको छ।

निर्माण कम्पनीको लापरवाहीका कारण सडकको अवस्था झन् बिग्रिएको भन्दै स्थानीयले तत्काल मर्मत तथा निर्माण कार्यलाई तीव्रता दिन माग गरेका छन्।

छिन्नमस्ता गाउँपालिका–२ का वडा अध्यक्ष सिकेन्द्र साहका अनुसार दुवै सडकको ठेक्का लागेर निर्माण कार्य सुरु गरिएको भए पनि निर्माण कम्पनीले समयमै काम नगर्दा सडक हिलो, खाल्डाखुल्डी र धुलोले भरिएको छ। विशेषगरी मोहनपुर–राम्पुरा सडकखण्डमा पैदल हिँड्न समेत कठिन हुने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो।

वडा अध्यक्ष साहका अनुसार सडकको दयनीय अवस्थाबारे सम्बन्धित निर्माण कम्पनी तथा पूर्वाधार विकास कार्यालय, राजविराज, सप्तरीलाई पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराइए पनि हालसम्म सडक मर्मत तथा सुधारका लागि कुनै प्रभावकारी पहल भएको छैन।

सडक जीर्ण बनेपछि स्थानीयवासीले दैनिक आवतजावतमा सास्ती खेप्नुका साथै आकस्मिक स्वास्थ्य सेवासमेत प्रभावित भएको छ। बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स गाउँसम्म पुग्न नसक्ने अवस्था रहेकाले कतिपय अवस्थामा ट्र्याक्टरमा बिरामी ओसार्नुपर्ने बाध्यता रहेको वडा अध्यक्ष साहले जानकारी दिनुभयो।

यसअघि पनि छिन्नमस्ता गाउँपालिका–२ वडा कार्यालयले सम्बन्धित निकायलाई पत्राचार गर्दै सडकमा हिलो, धुलो तथा जोखिमपूर्ण अवस्थाका कारण सर्वसाधारणले सास्ती खेपिरहेको उल्लेख गर्दै तत्काल मर्मत तथा निर्माण कार्यलाई तीव्रता दिन आग्रह गरेको थियो।

स्थानीयवासीले निर्माण कम्पनी र सम्बन्धित निकायसँग दुवै सडकको मर्मत तथा निर्माण कार्य यथाशीघ्र सम्पन्न गरी सर्वसाधारणको सुरक्षित र सहज आवतजावत सुनिश्चित गर्न माग गरेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित