असार ११, गौर / मेवालाल यादव। विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै उनीहरूको प्रतिभा पहिचान तथा विकासमा टेवा पुर्याउने उद्देश्यले गौर नगरपालिकाका नगरप्रमुख श्री शम्भु साहले श्री रत्नकन्या आधारभूत विद्यालय, गौर–९ सिर्सियामा आयोजित एक विशेष कार्यक्रमका बीच विद्यालयलाई विभिन्न क्रिकेट सामग्री हस्तान्तरण गर्नुभएको छ।
कार्यक्रममा नगरप्रमुख साहले विद्यालयका विद्यार्थीहरूको खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले १५ सेट क्रिकेट ड्रेस (प्रिमियम खाले ट्राउजरसहित), १ थान क्रिकेट किट, १ थान ड्युज ब्याट, १ थान टेनिस ब्याट, १ थान प्लास्टिक प्रिमियम ब्याट, १ जोडा किपिङ प्याड, २ जोडा ब्याटिङ प्याड, १ जोडा किपिङ ग्लोभ्स, २ जोडा ब्याटिङ ग्लोभ्स, १ थान ड्युज प्लास्टिक विकेट तथा १ दर्जन टेनिस बल लगायतका खेल सामग्री विद्यार्थीहरूलाई वितरण गर्नुभएको हो।
उक्त अवसरमा बोल्दै नगरप्रमुख साहले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नरही खेलकुद, अनुशासन, नेतृत्व क्षमता तथा व्यक्तित्व विकाससँग समेत जोडिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले खेलकुदले विद्यार्थीहरूमा आत्मविश्वास, सहकार्य भावना तथा प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने भएकाले स्थानीय सरकारले शिक्षासँगै खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखेर सहयोग गरिरहेको बताउनुभयो।
कार्यक्रममा गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद पौडेल, शिक्षा शाखा प्रमुख श्री उत्तम भट्टराई, वडा नं. ९ का वडा अध्यक्ष श्री कुमार अर्जुन सिंह, विद्यालयका प्रधानाध्यापक श्री भैरो यादव (सावन यादव), पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री मनोज सिंह, शिक्षक–शिक्षिका, अभिभावक तथा गाउँका भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक श्री भैरो यादव (सावन यादव) को नेतृत्वमा विद्यालयले पछिल्लो समयमा शैक्षिक, प्रशासनिक तथा अतिरिक्त क्रियाकलापका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ। उहाँ प्रधानाध्यापकको जिम्मेवारीमा आएपछि विद्यालयमा नियमित पठनपाठन, विद्यार्थी उपस्थितिमा वृद्धि, शैक्षिक वातावरणको सुधार तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सकारात्मक परिवर्तन देखिएको स्थानीय अभिभावक तथा सरोकारवालाहरूले बताएका छन्।
विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुद, हाजिरीजवाफ, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिहरूमा समेत विद्यार्थीहरूको सहभागिता बढाउँदै लगेको छ।
विद्यालय परिवारले खेलकुद सामग्री उपलब्ध गराई विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याएकोमा नगरप्रमुख श्री शम्भु साह तथा गौर नगरपालिका परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। साथै यस्ता सहयोगले विद्यालयका विद्यार्थीहरूलाई खेल क्षेत्रमा समेत उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने विद्यार्थीहरूले प्राप्त खेल सामग्रीप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा खेलकुद गतिविधिमा अझ सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका थिए।






