जेष्ठ २९, जनकपुरधाम। महोत्तरीमा मानसिक अवस्था कमजोर भएका एक व्यक्तिमाथि भएको निर्घात कुटपिटको घटनाले प्रहरीको समन्वय र खोजतलास प्रक्रियामाथि प्रश्न उठाएको छ। घटनामा गम्भीर घाइते भएका व्यक्तिको उपचारमा हालसम्म करिब ६ लाख रुपैयाँ खर्च भइसकेको पिडित परिवारले जनाएको छ।
धनुषा जनकपुरधाम उपमहानगरपालिका–३ निवासी आरती देवी दासका अनुसार उनका बुवा मगनु दास वैशाख ७ गते महोत्तरी गाउँपालिका अन्तर्गत मडैई गाउँमा आफन्तको विवाहमा गएका थिए। मानसिक अवस्था कमजोर रहेका उनी वैशाख ८ गतेदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजतलासका लागि वैशाख १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराएको थियो।
परिवारका अनुसार प्रहरीले हराएका व्यक्तिको खोजी कार्य गरिरहेको अवस्थामा मगनु दास महोत्तरीको जलेश्वर नगरपालिका क्षेत्रमा फेला परेका थिए। तर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन परेपछि पनि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुन नसक्दा उनी सुरक्षित रूपमा परिवारको जिम्मा लगिन नपाएको आरोप पीडित पक्षको छ।
पिडितका अनुसार वैशाख २४ गते बिहान जलेश्वर नगरपालिका–८ बजराही गाउँमा मगनु दासमाथि बाँसको भाटा प्रयोग गरी कुटपिट गरिएको थियो। घटनामा उनी गम्भीर घाइते भएका थिए।
पीडित परिवारका अनुसार आक्रमणका क्रममा प्रयोग गरिएको बाँसको भाटाले गरिएको कुटपिटबाट मगनु दासको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। मेडिकल रिपोर्ट अनुसार घटनामा उनको एउटा हातको हड्डी, खुट्टाको हड्डी, छातीको हड्डी भाचिएको देखिन्छन्। भने टाउकोसमेत फुटेको छ। गम्भीर चोटका कारण उनी लामो समयसम्म अचेत अवस्थामा रहेका थिए र हाल पनि निरन्तर उपचाररत छन्।
परिवारका अनुसार चिकित्सकहरूले थप विशेषज्ञ उपचार आवश्यक रहेको बताएका छन्। आर्थिक अभावका कारण उपचारलाई निरन्तरता दिन कठिनाइ भइरहेको भन्दै परिवारले सहयोगको अपिल गरेको छ।
घाइते मगनु दासलाई प्रारम्भिक रूपमा प्रादेशिक अस्पताल जलेश्वरमा उपचारका लागि भर्ना गरिएको थियो। अवस्था जटिल भएपछि थप उपचारका लागि जनकपुरधाम रेफर गरिएको परिवारले जनाएको छ। हाल उनको उपचार जनकपुरधामस्थित स्वस्तिक अस्पतालमा भइरहेको छ।
पीडित परिवारका अनुसार उपचारमा हालसम्म करिब ६ लाख रुपैयाँ खर्च भइसकेको छ। चिकित्सकहरूले थप विशेषज्ञ उपचार आवश्यक रहेको बताएकाले उनलाई काठमाडौं लैजानुपर्ने अवस्था रहेको परिवारको भनाइ छ।
घटनामा संलग्न रहेको आरोपमा जलेश्वर नगरपालिका–८ का अमोध ठाकुरविरुद्ध कुटपिट सम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको छ। प्रहरीका अनुसार आरोपित हाल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।
पीडित परिवारले दोषीमाथि कानुन बमोजिम कारबाही हुनुका साथै उपचारमा भएको खर्च र आगामी उपचारका लागि आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।
उता, घटनाबारे प्रतिक्रिया लिन पीडक पक्षसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि कुनै प्रतिक्रिया प्राप्त हुन सकेन।
प्रहरीबाट हराएको व्यक्तिको खोजी सम्बन्धी निवेदन दर्ता भइसकेको अवस्थामा समेत पीडितमाथि आक्रमण भएको घटनाले सुरक्षा संयन्त्रबीचको समन्वय र संवेदनशील व्यक्तिको संरक्षणका विषयमा थप बहस सिर्जना गरेको छ।
आर्थिक अभावले उपचारमा संकट
पिडित मगनु दास दलित समुदायका अति विपन्न नागरिक हुन्। उनका छोरा छैनन् भने सम्पत्तिको नाममा एक धुर घडेरी बाहेक अन्य सम्पत्ति छैन। परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले उपचारको सम्पूर्ण भार उनकी विवाहित छोरी आरती देवी दासले व्यहोर्दै आएकी छन्। परिवारका सदस्यका अनुसार उनले बुवाको उपचारका लागि आफ्ना गरगहना समेत बेचिसकेकी छन्।
हालसम्म उपचारमा करिब ६ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको र थप विशेषज्ञ उपचारका लागि काठमाडौं लैजानुपर्ने अवस्था रहेको परिवारले जनाएको छ। आर्थिक स्रोत समाप्त भइसकेकाले उपचारलाई निरन्तरता दिन कठिनाइ भएको भन्दै पीडित परिवारले सहयोगका लागि सर्वसाधारण, सामाजिक संघसंस्था तथा सम्बन्धित निकायसँग अपिल गरेको छ।
परिवारले दोषीबाट कानुनी रूपमा उपचार खर्चबापत क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने मागसमेत गरेको छ।





