बैशाख १० महोत्तरी। महोत्तरीको जलेश्वर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा समुदायमा आधारित रोग निगरानी प्रणाली (CBDS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जलेश्वर नगरपालिका वडा नं. ३ स्थित मलिवारा वडा कार्यालयको सभाहलमा आयोजना गरिएको थियो।
कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडा अध्यक्ष रतन चौधरीले गर्नुभएको थियो। कार्यक्रममा पालिकाका तर्फबाट आयोजक तथा व्यवस्थापक रामलाल ठाकुर, वरुण शाह, PHRD नेपाल का सहयोग कार्यक्रम अधिकृत लेखनाथ यादव, सुरक्षा कर्मी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालासहित करिब ३० जनाको सहभागिता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा समुदायस्तरमै रोगको प्रारम्भिक पहिचान, निगरानी तथा सूचना संकलन र प्रवाह गर्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई रोग फैलिन नदिन समयमै सूचना दिनुपर्ने, शंकास्पद बिरामी देखिएमा सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराउने र स्थानीय तहसँग समन्वय गरेर काम गर्नुपर्ने विषयमा जोड दिइएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष रतन चौधरीले समुदायको सक्रिय सहभागिता बिना कुनै पनि रोग नियन्त्रण सम्भव नहुने उल्लेख गर्दै यस्ता कार्यक्रमले जनचेतना वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, अन्य वक्ताहरूले पनि समुदायमा आधारित निगरानी प्रणाली प्रभावकारी कार्यान्वयन भएमा महामारी तथा संक्रामक रोगको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
आयोजकका अनुसार, यस किसिमका अभिमुखीकरण कार्यक्रमले स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीच सहकार्य बढाउँदै रोग नियन्त्रण तथा व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।






