बैशाख ०४, महोत्तरी। महोत्तरीको मटिहानी–मधबापुर सिमानाकामा रहेको मटिहानी भन्सार क्षेत्रमा पछिल्लो समय सशस्त्र प्रहरीले कडाइ बढाएसँगै कर छलि (राजस्व चुहावट) नियन्त्रणमा उल्लेखनीय सुधार आएको बताइएको छ। सीमा क्षेत्रमा हुने अवैध सामान ओसारपसार रोक्न सुरक्षाकर्मीहरूले निगरानी, चेकजाँच र गस्तीलाई तीव्र बनाएका छन्।
सशस्त्र प्रहरी बलले सीमा नाकामा आवतजावत गर्ने व्यक्तिहरूको कडाइका साथ जाँच गर्नुका साथै सवारीसाधनहरूलाई समेत निगरानीमा राखेको छ। सुरक्षा स्रोतका अनुसार अहिलेको कडाइका कारण भन्सार छलेर सामान ल्याउने सम्भावना न्यून भएको छ।
तर, यस कडाइले स्थानीय बासिन्दाको दैनिक जीवनमा भने असर पारेको गुनासो बढ्दै गएको छ। सीमावर्ती क्षेत्रका बासिन्दाहरू दैनिक उपभोगका साना सामान किनमेल गर्न भारततर्फ जाने र फर्किने क्रममा पटक–पटक जाँच र रोकतोकका कारण समस्यामा परेका छन्।
स्थानीय एक बासिन्दाले भने, “पहिले जस्तो सहज आवतजावत अहिले छैन। सानो सामान ल्याउँदा पनि सोधपुछ हुन्छ, कहिलेकाहीँ रोकिनुपर्छ, जसले दैनिक जीवन कष्टकर बनाएको छ।” विशेष गरी मजदुरी गर्ने, सानो व्यापार गर्ने र दैनिक उपभोगका सामग्री ल्याउने नागरिकहरू यस कडाइबाट बढी प्रभावित भएका छन्। उनीहरूले सुरक्षा निकायले स्थानीयको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै व्यवहारिक उपाय अपनाउनुपर्ने माग गरेका छन्।
यता, सुरक्षाकर्मी र सम्बन्धित निकाय भने देशको राजस्व संरक्षण, अवैध कारोबार नियन्त्रण र सीमा सुरक्षा मजबुत बनाउन यस्तो कडाइ आवश्यक भएको बताउँछन्। उनीहरूले कानुनी दायराभित्र रहेर मात्र सामान ओसारपसार गर्न आग्रह गरेका छन्।
स्थानीय तह र सरोकारवालाहरूले भने सुरक्षा र सहज जीवनबीच सन्तुलन कायम गर्न संवाद र समन्वय आवश्यक रहेको बताएका छन्। सीमा क्षेत्रमा दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, स्थानीयमै सहज किनमेलको व्यवस्था र वैधानिक व्यापारलाई प्रोत्साहन गर्नुपर्ने देखिएको छ।






