महासंघ सप्तरीमा आन्तरिक विवाद चुलियो, सहसचिवद्वारा ४८ घण्टे चेतावनी

|

बैशाख ०३, सप्तरी / चन्दन रजक। नेपाल पत्रकार महासंघ शाखा सप्तरीभित्र आन्तरिक विवाद चुलिएको छ। सहसचिव कृष्ण मण्डलले वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै ४८ घण्टे समयसीमा तोकेर माग सम्बोधन गर्न दबाब दिएका छन्।

मण्डलले सार्वजनिक गरेको धारणा अनुसार संस्थाको नेतृत्व निष्क्रिय, अपारदर्शी र गैरजवाफदेही बन्दै गएको आरोप लगाइएको छ। अध्यक्ष श्रवणकुमार देवको कार्यशैलीकै कारण महासंघ कमजोर हुँदै गएको उनको दाबी छ।

उनले पत्रकारहरूको हकहित संरक्षण, पेशागत सुरक्षा तथा संस्थागत गरिमा कायम गर्न नेतृत्व असफल भएको बताएका छन्। यही विषयलाई लिएर उनले ९ बुँदे माग अगाडि सारेका छन्।

मागहरूमा सचिव पदसँग सम्बन्धित अन्योल अन्त्य, सदस्यता वितरण प्रक्रिया पारदर्शी बनाउने, सल्लाहकारहरूको नामावली समावेश गर्ने, पत्रकारहरूको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने विषय समावेश छन्। साथै आय–व्यय विवरण सार्वजनिक गर्न, नियमित साधारण सभा गर्न र नेतृत्वले आफ्ना कमजोरीबारे स्पष्ट जवाफ दिनुपर्ने माग पनि राखिएको छ।

तोकेको समयभित्र मागहरू सम्बोधन नभए तालाबन्दी, विरोध प्रदर्शन तथा बहिष्कारजस्ता कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ। मण्डलले उत्पन्न हुने परिस्थितिको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने बताएका छन्।

यसैबीच, उनले सम्पूर्ण पत्रकार, सरोकारवाला निकाय तथा नागरिक समाजलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित