घर–घर पुग्दै शैक्षिक जागरण अभियान

|

चैत्र २८, रौतहट / मेवालाल यादव। जिल्ला अन्तर्गत मोतिपुरस्थित मदरसा इस्लामीया इमदादुल उलुमको आयोजनामा क्षेत्रीय कमिटीले शैक्षिक जागरण अभियान सुरु गरेको छ।

“सबैका लागि शिक्षा, सबैको अधिकार” नारासहित सञ्चालन गरिएको अभियान अन्तर्गत टोलीले घर–घरमा पुगेर अभिभावकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै बालबालिकालाई नियमित रूपमा विद्यालय तथा मदरसामा पठाउन आग्रह गरिरहेको छ।

अभियानका क्रममा वक्ताहरूले शिक्षा नै बालबालिकाको भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नदिन समुदायस्तरमा साझा पहल आवश्यक रहेको बताएका छन्। आर्थिक तथा सामाजिक कारणले शिक्षाबाट टाढा रहेका बालबालिकालाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको जनाइएको छ।

जमिअत उलेमाए नेपालका प्रतिनिधिहरूले धार्मिक शिक्षासँगै आधुनिक शिक्षाको आवश्यकता औंल्याउँदै दुवैको समन्वयले मात्र बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुने बताएका छन्।

कार्यक्रममा जमिअत महासचिव, मुफ़्ती शमीम कासमीले प्रत्येक घरका बालबालिकाले अनिवार्य रूपमा शिक्षा हासिल गर्नुपर्नेमा जोड दिँदै अभिभावकहरूलाई जिम्मेवार बन्न आग्रह गरे।

यसैबीच, क्षेत्रीय कमिटीका साविक अध्यक्ष स्वर्गीय मौलाना नसरुद्दीनको निधनपछि सहमतिका आधारमा मौलाना कमरुद्दीनलाई अध्यक्ष चयन गरिएको छ भने मौलाना अनिसुर्रहमान उपाध्यक्ष बनेका छन्।

अभियान कार्यक्रम सम्पन्न भएपछि स्थित बडी जामिया मस्जिदमा केन्द्रीय कमिटीद्वारा जिल्ला शाखाको उद्घाटन गरिएको छ। मौलाना कारी साजिदको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धार्मिक विधिअनुसार दुआ–प्रार्थना गरी शाखाको औपचारिक शुभारम्भ गरिएका हुन।

चर्चित समाचार


भर्खरै प्रकाशित