इरान बिरुद्धको युद्धलाई लिएर अमेरिकाका उच्च अधिकारीको राजीनामा

|

चैत्र ०३, डेस्क। अमेरिकाको नेसनल काउन्टर टेररिज्म सेन्टर (प्रतिआतंकवाद केन्द्र)का प्रमुख जो केन्टले मंगलबार इरान युद्धका कारण आफ्नो पदबाट राजीनामा दिएका छन् । इरान युद्धको विरोध गर्दै राजीनामा दिने उनी ट्रम्प प्रशासनका पहिलो र सबैभन्दा वरिष्ठ अधिकारी हुन् । केन्टले इरानबाट अमेरिकालाई कुनै खतरा नभएको बताएका छन् ।

जो केन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको एउटा पत्र ‘एक्स’मा पोस्ट गर्दै भनेका छन्, “म आफ्नो अन्तस्करणले इरानमा चलिरहेको युद्धलाई समर्थन गर्न सक्दिनँ । इरान हाम्रो देशका लागि कुनै खतरा होइन र के स्पष्ट छ भने हामीले यो युद्ध इजरायल र उसको बलियो लबीको दबाबमा सुरु गरेका हौँ ।”

केही विज्ञहरूका अनुसार, विद्यमान कानुनअन्तर्गत अमेरिकालाई युद्ध सुरु गर्नका लागि आसन्न खतरा हुनु अनिवार्य हुन्छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । राष्ट्रिय गुप्तचर महानिर्देशनालयले पनि यस विषयमा केही बोलेको छैन ।

केन्ट राष्ट्रिय गुप्तचर निर्देशक तुलसी ग्याबार्डका निकट मानिन्थे । इरान युद्ध सुरु भएदेखि तुलसी ग्याबार्डले कुनै सार्वजनिक बयान दिएकी छैनन् । यसै महिना मारिएका अमेरिकी सैनिकहरूको शव ल्याउँदा मात्र उनी एकपटक सार्वजनिक रूपमा देखा परेकी थिइन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित