कार्तिक १३, महोत्तरी / साजन कुमार। सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा र रतौली युवा क्लब, नेम कोचिङ एण्ड ट्रेनिङ सेन्टर तथा पिपरा गाउँपालिकाको सहकार्यमा सञ्चालित दलित तथा विपन्न समुदायका किशोर–किशोरीहरूका लागि ४५ दिने लोक सेवा तयारी कक्षा संचालन कार्यक्रम बिहिबार सम्पन्न भएको छ।
कार्यक्रममा पिपरा गाउँपालिकाका अध्यक्ष राम जानकी यादव प्रमुख अतिथि, बिशिस्ट अतिथिमा रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरी, नेम कोचिङ एण्ड ट्रेनिङ सेन्टरका संस्थापक, साथै गाउँपालिकाका वडा अध्यक्षहरु तथा कर्मचारीहरू उपस्थित थिए।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राम जानकी यादवले भने, “लोकसेवा जस्तो प्रतिस्पर्धात्मक क्षेत्रमा दलित र विपन्न समुदाय धेरै पछि परेका छन्। यस्ता कक्षाहरूले उनीहरूलाई राज्यका निकायमा पुग्ने बाटो खुलाउँछन्।”
रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीले भने, “हामी समुदायका युवाहरूमा आत्मविश्वास जगाउन चाहन्छौँ। यो कार्यक्रमले उनीहरूलाई आफ्नो क्षमतामा भरोसा गर्न सिकाउने छ।”
नेम कोचिङ एण्ड ट्रेनिङ सेन्टरका संस्थापकका अनुसार, “४५ दिनमा विद्यार्थीहरूको सोच्ने तरिका र अनुशासनमा ठुलो परिवर्तन आउँन सक्छ। भविष्यमा अझ प्रभावकारी तयारी कक्षा सञ्चालन गर्ने हाम्रो योजना छ।”
त्यस्तै, एक सहभागीले भने, “हामीजस्ता गाउँका विद्यार्थीका लागि यस्तो कक्षा ठूलो अवसर हो। शिक्षकहरूबाट धेरै कुरा सिक्ने मौका छ। अब पढाइलाई निरन्तरता दिनेछौं।”
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाहरूले आगामी वर्ष पनि यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।






