साउन १४, राजविराज / चन्दन रजक। जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले भारतको विभिन्न प्रसिद्ध धार्मिक स्थलहरूको चारदिने विशेष धार्मिक यात्रा सम्पन्न गरी आज नेपाल फर्किएका छन्।
सावन महिनाको पवित्र अवसर पारेर डा. राउतले हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्वपूर्ण मानिने सुल्तानगंज, देवघरस्थित बाबा वैद्यनाथधाम र बाबा बासकीनाथधाम लगायतका शिवधामहरूमा जल अर्पण र विशेष पूजापाठ सम्पन्न गरेका थिए। उनी बुधवार नेपाल फर्किएका हुन्।
डा. राउतले उक्त धार्मिक यात्रालाई केवल आस्था र पूजाआर्जनको पक्षमा मात्र सीमित नराखी, यसलाई सामाजिक सद्भाव, शान्ति, जनकल्याण र राष्ट्रिय समृद्धिको कामनासँग जोडेर अर्थपूर्ण बनाएका छन्। उनले दर्शन तथा पूजाआजा क्रममा देश र जनताको शान्ति, समृद्धि तथा राजनीतिक स्थायित्वको कामना समेत गरेका थिए।
धार्मिक संस्कार र परम्पराको सम्मान गर्दै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुपर्ने आवश्यकतामा उनले जोड दिएका छन्। ‘धार्मिक आस्था केवल व्यक्तिगत मात्र होइन, यो सामाजिक सहिष्णुता र सामूहिक चेतनाको पनि मूल स्रोत हो,’ डा. राउतले यात्रा समाप्तिपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै बताए। उनको यो भ्रमणले एकातर्फ धार्मिक तथा सांस्कृतिक मूल्यमान्यताप्रतिको सम्मानलाई उजागर गरेको छ भने अर्कोतर्फ जनप्रतिनिधिको हैसियतमा सार्वजनिक जीवनमा आध्यात्मिक चेतना र समर्पणको उदाहरण पनि प्रस्तुत गरेको छ।
डा. राउतको यो धार्मिक यात्रालाई जनमत पार्टीका समर्थकहरूले सकारात्मक रुपमा लिएका छन्। पार्टीका केन्द्रीय सदस्यहरूका अनुसार, नेताको यस्तो कार्यले पार्टीभित्र सामाजिक र नैतिक अनुशासनलाई बल पुग्ने विश्वास गरिएको छ।






